विश्वव्यापी रूपमा वर्षेनि अनुमानित ३२४ ट्रिलियन ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । यो पानी वार्षिक २८ करोड मानिसहरूको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ ।
भूमिगत जलभण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम/जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकको सन् २०२५ को प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
अलजजीराका अुनसार भू–उपग्रह तस्वीरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका १० ठाउँहरू देखाएका छन् । अर्जेन्टिना, बोलिभिया, बोत्सवाना, चिली, इरान, इराक, मडागास्कर, माली, अमेरिका र उज्वेकिस्तानका तालदेखि नदीसम्ममा पानी घटिरहेका हुन् ।
सन् १९९० को दशकको शुरुआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ । सन् १९७० देखि हिमनदीको ३० प्रतिशतभन्दा धेरै भाग केही क्षेत्रहरूमा हराएको छ । यस्तै विगत पाँच दशकमा झन्डै ४१ करोड हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन् । यो युरोपेली सङ्घको जमिन बराबर छ ।
यसैबीच मरुभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन तथा क्षयग्रस्त जमिनलाई पुनस्र्थापित गर्ने कार्यलाई प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज जुन १७ मा विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदैछ ।











