तराईमा चर्को गर्मी : सावधानी अपनाउन आग्रह

काठमाण्डौ । तराई क्षेत्रमा गर्मी बढ्दै गएको छ । मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन ।

तराईका अरू क्षेत्रमा पनि गर्मी बढेको हो । तराईमा पर्याप्त वर्षा हुन सकेको छैन । यसकै कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढी देखिएको छ ।

महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसुनको सक्रियता मुख्यतः पहाडी र हिमाली क्षेत्रमा केन्द्रित छ । महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै कोशी प्रदेशको तराईका केही ठाउँ र मधेस प्रदेशका एक–दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ । तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा मौसम मुख्यतः सफा रहने र तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले लगातारको गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी तथा बाहिर काम गर्ने श्रमिकहरू बढी प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । टाउको दुख्ने, थकान बढ्ने तथा ‘हिट स्ट्रोक’को जोखिम रहने भएकाले प्रशस्त पानी पिउन, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन र हल्का तथा सुती कपडा प्रयोग गर्न सुझाव दिइएको छ ।

महाशाखाका अनुसार तत्काल मनसुन भित्रिने सम्भावना छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search