झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने

काठमाण्डाै । भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन् । नेपाल चिया उत्पादक सङ्घले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवैतर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपरेको जनाएको छ । इलामका ५० भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसकेका छन् ।

झापामा साना–ठूला गरी ३० भन्दा धेरै चिया उद्योग र झन्डै दुई दर्जन चिया बगान बन्द हुने सङ्घले जनाएको छ । झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया उत्पादन हुने गर्छ । यो व्यवसायमा झन्डै ६० हजार श्रमिक, कर्मचारी र किसान आश्रित छन् । चिया निर्यात गर्न नपाएर थन्किँदा झमिको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिनसमेत कठिन भएको व्यवसायीको भनाइ छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सङ्घका अध्यक्ष आदित्य पराजुलीले ४५ दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्‍याउनसमेत कठिन भएको उद्योगी बताउँछन् । सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास सफल नभएका कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूहरूसँग नरहेको उहाँको भनाइ छ ।

यसैबीच नेपाली कांग्रेसका सचेतक निश्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ । गुणस्तर परीक्षणका नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो ।

सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search