नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

काठमाण्डौ । नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ ।

डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार यो सेवा सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो ।

अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टलमार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक वा विद्युतीय सिमका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधिमार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधिमार्फत सिम बुझ्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

सञ्चार मन्त्रालयले अघि सारेको सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ ।

यसैअनुसार कम्पनीले मोबाइल सेवा व्यवस्थापन, प्रशासनिक प्रक्रिया सरलीकरण र सेवाग्राही केन्द्रित सेवा विस्तारका कार्यक्रम अघि बढाएको जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search