काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । दिउँसो र बेलुकीपख अझै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । दिनभर पानी पर्ने भएकाले धेरै ठाउँमा बाढीको जोखिम छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, रसुवा, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी (पूर्व), पाल्पा र अर्घाखाँची जिल्लाका नदी तथा खोलामा बाढीको जोखिमे छ ।
त्यस्तै रुकुम पूर्व, जाजरकोट, दाङ, दैलेख, सुर्खेत, डोटी, अछाम, बझाङ र बाजुरामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । पूर्वमा भोजपुर, खोटाङ, ओखलढुंगा र रामेछापका केही साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई पनि सावधानी अपनाउन महाशाखाको आग्रह छ ।
निरन्तर वर्षाका कारण नदी तथा खोलाको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार, तटीय बस्ती, पुल तथा डुबानको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरेको छ ।
आज देशका पहाडी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुसलधारे वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।











