काठमाण्डौ । देशका पश्चिम क्षेत्रमा पर्सि मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले तीन दिनसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आजदेखि पर्सिसम्म विशेषगरी पश्चिम क्षेत्रका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
देशका अरु विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको पानी पर्ने अनुमान छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
त्यस्तै आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक/दुई मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको छ । भोलि र पर्सि पनि यस्तै अवस्था रहने महाशाखाको अनुमान छ । गएराति दाङ, स्याङ्जा, बर्दिया, प्युठानलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।
मौसमबारेका जानकार उज्ज्वल उपाध्यायकाअनुसार विशेषगरी तल्लो कर्णाली र सुदूरपश्चिम क्षेत्रमा पानी पर्ने सम्भावना छ । मध्य र पूर्वमा पर्सि मंगलबारसम्म ठूलो वर्षाको सम्भावना छैन ।











