काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युतगृहमा फसेका र सम्पर्कविहीन भएकाहरूको अझै उद्धार हुन सकेको छैन ।
बाढीको एकहप्ता बितिसक्दासमेत सुरुङभित्र पसेको लेदो, थुप्रिएको माटो, बढ्दो नदीको सतह र घटनास्थलसम्म आवश्यक भारी उपकरण पुर्याउन नसक्दा समस्या भएको हो । माथिल्लो त्रिशूली–३ ‘ए’, चिलिमे, रसुवागढी, लाङटाङ खोला, त्रिशूली–३ ‘बी’ र माथिल्लो त्रिशूली–१ लगायतका आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धार प्रयास भैरहे पनि सफल हुन सकेको छैन ।
माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङभित्र उद्धारकर्ता पठाउन ड्रिलिङ तथा खन्ने कामका लागि चार वटा स्काभेटर परिचालन गरिएको छ । उद्धारलाई थप प्रभावकारी बनाउन विद्युतगृह निर्माणका क्रममा प्रत्यक्ष संलग्न भएका अनुभवी विज्ञहरूलाई समेत परिचालन गर्नेबारे छलफल भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।
यस्तै चिलिमे जलविद्युत् केन्द्रको विद्युतगृहमा भारतीय उद्धार टोली, नेपाली सेना लगायतले विद्युतगृहसम्म पुग्ने मार्ग सफा गर्ने काम गरेका छन् । सुरुङसम्म आवश्यक मेसिनरी तथा उपकरण लैजान नसक्दा उद्धार कठिन बनेको छ ।
रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र कोही नरहेको निष्कर्षसहित सेनाको टोली फर्किएपछि थप उद्धार कार्य अघि बढ्न सकेको छैन । सात दिनसम्म पनि हराइरहेकाहरूको खोजी प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि आफन्तहरू आक्रोशित बनेका छन् ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि प्राविधिक तथा विज्ञ परिचालन गर्ने तयारी छ । त्रिशूली–३ ‘बी’ र माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङमा पनि खोजी प्रयास भैरहेको सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्