संखुवासभा। संखुवासभाको पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा आगामी मंसिर ५ देखि ८ गतेसम्म ‘चिचिला महोत्सव २०८३’ आयोजना हुने भएको छ। चिचिला गाउँपालिकाको आयोजना, कोशी प्रदेश सरकारको प्रायोजन तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजना हेलबेटास नेपालको समन्वयमा महोत्सव सञ्चालन हुन लागेको हो ।
पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा जातजातिको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय कृषि उपज, पशुपन्छी, हस्तकला तथा अन्य उत्पादनको प्रदर्शनी र बिक्री वितरणका लागि कम्तीमा ३० वटा स्टलको व्यवस्था गरिनेछ । त्यस्तै शेर्पा, राई, गुरुङलगायत विभिन्न जातजातिका परम्परागत खानाका परिकार समेटिएको फुड फेस्टिभलसमेत सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटनका दिन विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ। खेलकुदतर्फ महिला तथा पुरुष ट्रेल रेस र पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुनेछन्।
मंसिर ५ गते बिहान ८ बजेदेखि सुरु हुने १२.५ किलोमिटर दूरीको ट्रेल रेस छ्याङ्कुटीबाट सुरु भई रमिते, ठूलो देउराली, चिचिला बजार, कुवापानी, बलुथाम, मकालु हेरक पार्क, धजे प्रवेशद्वार र गुराँसे हुँदै मत्स्यपोखरीस्थित महोत्सव स्थलमा पुगेर सम्पन्न हुनेछ। महिला तथा पुरुष दुवैतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने खेलाडीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, मंसिर ५ गते उद्घाटन हुने पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता मंसिर ८ गते सम्पन्न हुनेछ। प्रतियोगितामा भोजपुर र संखुवासभाका गरी कम्तीमा ८ देखि १२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । विजेता, उपविजेता तथा सेमिफाइनलिस्ट टोलीलाई कप, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रमलाई समेत विशेष प्राथमिकता दिइएको छ । नेपाली राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) सहित कोशी प्रदेशका १४ वटै जिल्लाका साहित्यकार तथा स्थानीय साहित्यकारहरूको साहित्यिक प्रस्तुति रहनेछ । मंसिर ६ गते दिउँसो ३ बजेदेखि खुला नृत्य प्रतियोगिता सञ्चालन गरिनेछ ।
सांगीतिक कार्यक्रमअन्तर्गत मंसिर ७ र ८ गते चर्चित गायक राजेश पायल राईसहित जादुगर शेरबहादुर गुरुङ, गायिका कुसुम गुरुङ, दखिन राई, राजु बाह्रकोटी, पवित्रा गुरुङ, भोलामान गुरुङ, सोनियल साम्पाङ, सबिन शंकर र जितेन्द्र राईलगायत कलाकारको प्रस्तुति रहनेछ ।
यसका अतिरिक्त चिचिला गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको फोटो प्रदर्शनी तथा महोत्सव परिसरबाट पाथीभरा माता, सभापोखरी, शिवधारा र मकालु आधार शिविरसम्म शुल्कसहित हेलिकप्टरमार्फत तीर्थयात्रा तथा दृश्यावलोकनको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
महोत्सव सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ र चिचिला गाउँपालिकाबाट १० लाख रुपैयाँ लागत साझेदारी हुनेछ । साथै हेल्भेटास नेपालद्वारा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले ट्रेल रेस व्यवस्थापन, टी-सर्ट, क्याप तथा फोटो प्रदर्शनीका लागि आवश्यक सामग्रीमा सहयोग गर्नेछ ।
महोत्सवले चिचिला गाउँपालिकाका पर्यटकीय गन्तव्यको प्रचारप्रसारसँगै स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक पहिचानको संरक्षण र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्