काठमाण्डाै । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रभाव नेपालमा मुख्यगरी बिहीवार रातिदेखि शनिवारसम्म पर्ने भएको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर शुक्रवार र शनिवार देशका विभिन्न भू–भागमा अत्यधिक वर्षा र व्यापक हिमपातको सम्भावना रहेको जनाएको छ ।
भारतीय मौसम विभागका अनुसार नेपाली समयअनुसार आज बिहान साढे ५ बजे बङ्गालको खाडीमा रहेको गहिरो न्यून चापीय प्रणाली चक्रवातमा परिणत भएको हो ।
‘अर्नब’ नाम दिइएको यो चक्रवात थप शक्तिशाली बन्दै पर्सि बुधवार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान छ । त्यस बेला हावाको गति प्रतिघण्टा ११५ देखि १४५ किलोमिटरसम्म पुग्न सक्ने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै चक्रवातको प्रभाव र अन्य साना वर्षा प्रणालीहरूको संयुक्त असरले बुधवार रातिदेखि नै नेपालमा मौसम बदली भई सामान्यदेखि मध्यम वर्षा शुरू हुनेछ । बिहीवारदेखि शनिवारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको छ ।
विशेषगरी शुक्रवार र शनिवार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ । यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा ठूलाे हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ ।
सम्भावित विपद् र क्षतिलाई मध्यनजर गर्दै महाशाखाले किसान, पर्यटक तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
देशका पहाडी तथा तराई क्षेत्रका किसानलाई धानबाली भित्र्याउनेलगायतका कृषि कार्यहरू बिहीवारअघि नै सम्पन्न गर्न र बुधवारदेखि शनिवारसम्म धान नकाट्न विशेष सुझाव दिइएको छ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रको पदयात्रामा नजान, गएकाहरूलाई पनि सुरक्षित ठाउँमा बस्न तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न महाशाखाको अनुरोध छ ।
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीको निरन्तर अनुगमन गरिरहेको भन्दै महाशाखाले निकाल्ने सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्