म्याग्दीमा असिनापानीले तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा असिनापानीका कारण तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ ।

स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार गएको आइतवार बेलुका परेको असिनापानीले सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो ।

टोलीले हिजो बेलुका क्षतिको विवरण सार्वजनिक गरेको हो । बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पुर्‍याएको छ ।

असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न खेतमा पुगेका थिए । सङ्कलन भएको विवरणअनुसार गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ । धेरै ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ ।

किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् । पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने वडासदस्य रिजालले बताउनुभयो । म्याग्दीको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको बालीमा क्षति भएको हो ।

कृषि ज्ञानकेन्द्र कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका पालिकाहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search