काठमाण्डौ । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनशिपमा रजत पदक जितेका छन् । अमेरिकाको क्यालिफोर्नियामा रहेको आर्काडिया हाई स्कुल जिम्नाजियममा हिजो भएका प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा दुई रजत जितेका हुन् ।
ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेशन यूएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फर्म्समा प्रतिस्पर्धा गरेका थिए ।
भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनशिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङ फु च्याम्पियनशिप र सन् २०२२ मा बेलायतमा भएको युरोपियन च्याम्पियनशिपमा स्वर्ण जितेका थिए ।
भूपेन्द्र गुरुङले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङ फु च्याम्पियनशिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।











