काठमाण्डाै । सुदूरपश्चिम प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि जितेको छ । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले हरायो । सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । आर्मीका इमरान शेखले नटआउट ४६, बसिर अहमदले ४५ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ३९ ओभर ४ बलमा १६१ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिमका अशोक धामीले सबैभन्दा धेरै ४३ रन बनाए । आर्मीका आकाश चन्द र शाहब आलमले ३/३ विकेट लिए ।
योसँगै सबै ८ वटै संस्करणको फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो । सुदूरपश्चिम पहिलो पटक फाइनलमा पुगेको हो । १० वटा टाेली सहभागी प्रतियाेगितामा आर्मी र सुदूरपश्चिम शीर्ष २ मा रहेर फाइनलमा पुगेका हुन् ।
याे प्रतियाेगिताबाट आर्मी, सुदूरपश्चिम, एपीएफ क्लब, मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब शीर्ष ६ मा रहेर जय ट्रफीका लागि छनाेट भएका छन् ।











