पाँचखपन नगरपालिका वडा नं. ४ मा अवस्थित गुप्तेश्वर गुफामा हरेक वर्ष सञ्चालन हुँदै आएको एकादशी विशेष कार्यक्रम सम्पन्न भएको छ । हरिबोधनी एकादशीको अवसरमा सञ्चालन हुँदै आएको कार्यक्रम गुप्तेश्वर गुफाको प्रांगणमा सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको उपस्थिति रहेको थियो । वडा नं. ४ को आयोजनामा भएको कार्यक्रममा विभिन्न जिल्लाबाट गप्तेश्वर दर्शन साथै मनोरञ्जनका लागि आउनेहरुको बाक्लो भिड थियो ।
गुप्तेश्वर भगवान महादेवको विशेष आस्थाको केन्द्र भएकालेसमेत तिर्थालु र पर्यटकहरुको धेरै उपस्थिति भएको अनुमान लाउन सकिने आयोजकले जनाएको छ ।
आदीमकालमा डोलटार भन्ने ठाउँमा गाई चरन रहेको र चरनका क्रममा गाई हराए पछी खोज्ने क्रममा गुफा भित्रबाट गाईको आवाज आएको र गुफा पत्ता लागेको किम्बदन्ती छ । विभिन्न आकृतिका शिलाबाट निर्माण भएको प्राकृतिक गुफामा महादेवको पुजा गरिन्छ ।
यहाँ माघे संक्रान्ति र हरिबोधनी एकादशीका दिन धार्मिक मेला लाग्ने गरेको छ । अन्य समयमा पनि यहाँ रुद्री लगाउने गरिन्छ । धार्मिक अस्तित्वको यो गुफा प्रचार अभावमा ओझेलमा परेको हो । यो गुफामा मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो गुफामा पुजा गर्नाले सन्तान प्राप्ति तथा दिर्घायु र स्वास्थ्य लाभ हुने बताइन्छ ।
गुफामा पुजा गर्न छिमेकी जिल्ला भोजपुर, धनकुटा र तेह्रथुमबाट पनि भक्तजनहरु आउने गरेका छन् । गुफासम्म पुग्न वडा र नगरपालिकाले सडक निर्माण, रेलिङ र सिढी निर्माणको काम गरेको वडा अध्यक्ष टोप बहादुर तामाङले बताउनु भयो । गुफाको थप प्रचार गर्न गुफासम्म पुग्ने सडकलाई स्तरोन्नती गरी बाह्रै महिना सडक सञ्चालन गर्नु पर्ने छ । गुफाको महत्व र धार्मिक आस्थाको केन्द्रको रुपमा विकास गर्न सके यसको अस्तित्व चुलिने निश्चित छ ।











