कम्बोडियामा एमालेका नेता जाँदा कुप्रचार गरियो : महासचिव पोखरेल

काठमाण्डौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरणसभा आयोजना गरेको बताउनुभएको छ । नेकपा एमाले काठमाण्डौ, ललितपुर र भक्तपुर तीन वटा जिल्ला कमिटीले आज काठमाण्डौको दरबारमार्गमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अनावश्यक षडयन्त्रलाई चिर्न जागरणसभा आयोजना गरेको स्पष्ट पार्नुभयो । उहाँले देशका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेका बेला विभिन्न षडयन्त्र भइरहेकोतर्फ सचेत हुन आग्रह गर्नुभयो ।

राष्ट्र र राष्ट्रियताका पक्षमा उभिएकै कारण एमालेमाथि आक्रमण भएको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण हुँदै आएको छ, अहिले एमालेलाई समाप्त पार्न अनेक षडयन्त्र भइरहेका छन् । एमालेविरुद्ध फैलाइएका सबैखाले भ्रम चिर्न पार्टी पंक्ति एक हुनुपर्ने समय आएको छ ।’

महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण देशको विकास हुन नसकेको महसुस गरी ठूला राजनीतिक दल एक भइ सरकारमा गएको बताउनुभयो । पछिल्ला दिनमा एमालेसँग जोडेर गलत प्रचार हुन थालेको उल्लेख गर्दै आफ्नो पार्टीमाथी जोडिएका सबै विषयमा छानबिन गर्न चुनौती दिनुभयो ।

महासचिव पोखरेलले कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदासमेत कुप्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयो । नेकपा एमाले सहकारी छानबिनमा व्यक्ति नभई घटना केन्द्रित छानबिन गरौँ भन्ने पक्षमा रहेको स्मरण गराउँदै महासचिव पोखरेलले व्यक्ति केन्द्रित भई अनुसन्धान गरौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सभापति अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताउनुभयो । त्यसको दोष अहिले एमालेमाथि लगाउने काम भइरहेकाले उहाँले आपत्ति प्रकट गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search