काठमाण्डौ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाईंदैछ । विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष बोडेका सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै हुनुहुन्छ । मध्यपुर ठिमी वडा–२ मा रहेको गणेशको मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ ।
त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्ध चन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्ति पीठमा परिक्रमा गर्ने गर्छन् । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकाल्ने चलन छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ ।
यसैबीच मध्यपुरथिमि क्षेत्रमै आज ३२ खटसहितको सिन्दूर जात्रा गरिँदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर सिन्दूर जात्रा मनाउने गर्छन् ।
थिमिमामात्र मनाइने यो जात्रामा एक अर्कामा सिन्दूर दलेर धिमेलगायतका स्थानीय बाजाको तालमा नाच्दै हात-हातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ ।











