निमनगढीमा भव्य सांस्कृतिक मेला सम्पन्न : स्थानीयको श्रमदान र सहभागिताको उच्च प्रशंसा

​सङ्खुवासभा । ​सङ्खुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल निमनगढीमा नयाँ वर्ष २०८३ को अवसरमा आयोजित सांस्कृतिक मेला भव्यताका साथ सम्पन्न भएको छ। धर्म प्रति आस्था जगाऔं, संस्कार र संस्कृतिको जगेर्ना गरौं भन्ने मूल नाराका साथ निमनगढी संरक्षण समितिले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन पाँचखपन नगरपालिकाका नगर प्रमुख विपीन राईको प्रमुख आतिथ्यतामा भएको थियो।

मेलाको विशेष आकर्षणको रूपमा चर्चित राष्ट्रिय गायिका टिका प्रसाई र द भ्वाइस अफ नेपाल सिजन ६ का उत्कृष्ट पाँचमा पर्न सफल गायक विराट तामाङको बेजोड साङ्गीतिक प्रस्तुति रहेको थियो। यस वर्षको मेलालाई सफल बनाउन वडा अध्यक्ष सन्तोष बस्नेत र स्थानीय बासिन्दाहरूले जनश्रमदान र सहयोग पुर्‍याएका छन्। मेला स्थलको पूर्वाधार निर्माण र सौन्दर्यकरणका अधिकांश कामहरू स्थानीयकै स्वैच्छिक सक्रियतामा सम्पन्न भएका हुो । वडा अध्यक्ष तथा स्थानीय श्रमदातालाई प्रमुख अतिथि लगायतले विकासको उत्कृष्ट नमूनाका रूपमा प्रशंसा गर्नुभएको थियो।

​मेलाको अवसरमा खुल्ला एकल नृत्य प्रतियोगितामा पाँचखपनकी अनिशा तामाङले प्रथम स्थान हासिल गर्दै नगद २० हजार पुरस्कार प्राप्त गर्नुभयो। त्यस्तै, उदयपुरका टार्जन दनुवारले द्वितीय स्थान हासिल गरि नगद १५ हजार प्राप्त गर्नुभएको हो । यस्तैपाँचखपनकी उर्मिला राईले तृतीय स्थान हासिल गरि नगद १० हजार र पाँचखपनकै छेकी डोल्मा तामाङले सान्त्वना स्थान हासिल गरि ५ हजार प्राप्त गरेको हो ।

प्रतियोगीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।पाँचखपन नगरपालिका र ७ नं. वडा कार्यालयको मुख्य सहयोगमा सम्पन्न यस मेलाले निमनगढीको धार्मिक तथा पर्यटकीय पहिचानलाई थप उचाइमा पुर्‍याएको छ। हजारौँ दर्शकहरूको उपस्थिति रहेको यो मेला स्थानीय पर्यटन प्रवर्द्धन र सांस्कृतिक जागरणको हिसाबले ऐतिहासिक सावित भएको छ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search