सामान्य शल्यक्रियाका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यता हट्दै, विदेश जाने बिरामी पनि घटे

काठमाण्डौ । काठमाण्डौ मेडिकल कलेजका डा. स्पन्दनदर्शन अधिकारीले नेपालमा शल्य चिकित्सा सेवा बिस्तारै देशभर फैलिरहेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा। अधिकारीले पहिले काठमाण्डौमा मात्र सीमित रहेको शल्य चिकित्सा सेवा अहिले गाउँगाउँसम्म पुगेको बताउनुभएको हो । अहिले करारका भए पनि चिकित्सकहरू गाउँगाउँमा पुग्न थालेका छन् । यसले गर्दा बिरामीहरूले लामो यात्रा गर्नुपर्ने, बसाइँको व्यवस्था मिलाउनुपर्ने र अतिरिक्त खर्च बेहोर्नुपर्ने बाध्यता हट्दै गएको छ ।

पहिले शल्य चिकित्सासम्बन्धीका सामान्य बिरामी पनि काठमाण्डौ आउनुपर्ने बाध्यता रहेकोमा अब त्यो अन्त्य हुँदै गएको डा। अधिकारी बताउनुहुन्छ । उहाँले डडेलधुरामा दूरबिन प्रविधिको माध्यमबाट पित्तथैली र एपेन्डिक्सको शल्यक्रिया भएको र बाग्लुङबाट दुई वर्षदेखि हर्नियाका बिरामीको रेफर हुन छोडेको उदाहरण दिँदै यस्ता सफलताले स्थानीयस्तरमै गुणस्तरीय शल्य चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरेको बताउनुभयो ।

काठमाण्डौमा न्युरो सर्जरीका लागि रोबोट प्रविधिसमेत प्रयोगमा आइसकेको जानकारी दिँदै डा। अधिकारीले नेपालमा अत्याधुनिक प्रविधिको प्रयोग बढ्दै गएको बताउनुभयो । बिरामीहरूले विदेशमा जस्तै गुणस्तरीय सेवा स्वदेशमै पाउन थालेका छन् । यसबाट शल्यक्रियाकै लागि विदेश जाने क्रम घट्दै गएको छ । तर सरकारले शल्य चिकित्सा क्षेत्रमा थप लगानी बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search