काठमाण्डौ । २३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल नियुक्त भएका छन् । ताजकिस्तानमा हुने एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले धिमाललाई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
यस्तै एन्फाले गोलकिपर प्रशिक्षकका रूपमा नवीन महर्जन र टोली व्यवस्थापकमा अमृतमान श्रेष्ठलाई पनि नियुक्त गरेको छ । तीनै जनालाई सातदोबाटोको एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका कार्यवाहक महासचिव दामोदर भट्टराईले नियुक्ति पत्र प्रदान गर्नुभयो । यसअघि हिजो एन्फाले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
आउँदो सेप्टेम्बर ३ देखि ९ सम्म हुने २३ वर्षमुनिको एशियन कप छनोटमा नेपाल, ताजकिस्तान, सिरिया र फिलिपिन्स समूह ‘एच’ मा रहेका छन् । यो समूहको खेल ताजकिस्तानमा हुनेछ ।
प्रतियोगितामा ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । आयोजक साउदी अरेबिया यसअघि नै छनोट भइसकेको छ । प्रतियोगिताबाट ११ समूह विजेता र ४ उत्कृष्ट उपविजेता एशियन कपमा छनोट हुनेछन् ।











