सुदूरपश्चिमसहित पहाडी भेगका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । आज सबै प्रदेशमा पानी पर्ने र सुदूरपश्चिममा अझै ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो हप्ताभरी नै निरन्तर पानी पर्ने सम्भावना छ । अहिले देशभर नै मनसुन सक्रिय भएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्म लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा भीषण वर्षाको सम्भावना रहेकाले पूर्वसूचनाको पालना गर्दै सावधान रहन भनेको छ ।

अरु पहाडी भूभागमा पनि भीषण वर्षाको सम्भावना रहेकाले अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, मौसमी सूचनाको जानकारी राख्दै डुबान हुन सक्ने घरका नागरिकले सतर्कता अपनाउन, नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउँदै किनारामा कुनै काम नगर्न र उच्च जोखिम रहेका जिल्लाका विपत् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले आवश्यक निर्णय गर्न र पालना गराउन पनि आग्रह गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search