युक्रेनलाई फेरि सैन्य सहायता दिन अमेरिका तयार

रुसको बढ्दो हवाई आक्रमणकाबीच अमेरिकाले युक्रेनलाई पुनः सैन्य सहायता दिन तयार भएको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताउनु भएको छ । गएको हप्ता रोकिएको सहायता फेरि शुरू भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोमार्फत युक्रेनलाई पेट्रियट हवाई रक्षा प्रणाली पठाउने सम्झौता भएको बताउनु भएको छ । यसअघि युक्रेनले १० वटा पेट्रियट प्रणालीको माग गरेको थियो । जर्मनी र नर्वेले युक्रेनका लागि केही प्रणालीको खर्च बेहोर्ने प्रतिबद्धता जनाएको जेलेन्स्कीले बताउनु भएको छ । अन्य युरोपेली देश पनि सहायता दिन इच्छुक छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली देशहरूलाई आफूसँग रहेका प्रणाली तुरुन्त युक्रेनलाई हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ । पछिल्लो समय युक्रेनमाथि भएका रकेट, ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण जुन महिनामा मात्रै २३२ नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

पेट्रियट प्रणाली एक अत्याधुनिक, तर महँगो सुरक्षा प्रणाली हो जसको मूल्य करिब १ अर्ब डलर पर्छ । अहिले युक्रेनमा कति प्रणाली छन् भन्ने जानकारी गोप्य राखिएको छ, तर थप प्रणालीले थप शहरहरूलाई सुरक्षा दिने विश्वास गरिएको छ । युक्रेनको ठूलो देश भएकोले सबै क्षेत्रमा रक्षा गर्न सम्भव नहुने भए पनि बढ्दो खतरा देखेर पश्चिमा देशहरुले आपूर्ति बढाउने प्रयास गरिरहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search