काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–टु एक दिवसीय शृङ्खला अन्तर्गत घरेलु मैदानमा नेपालले आज युएईसँग खेल्दैछ । आजको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । खेल केहीबेरमा त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ ।
साथै आजको खेलमा नेपालले ४ खेलाडी परिवर्तन गरेको छ । नेपालको राष्ट्रिय टोलीबाट अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा डेब्यू गर्दैछन् । विनोद भण्डारीले पनि कमब्याक गरेका छन् । साथै ललित राजवंशी र नन्दन यादवदे पनि प्लेइङ ११ मा स्थान बनाएका छन् ।
यो शृङ्खलामा नेपाल, युएई र ओमान छन् । यसअघि आफ्नो पहिलो खेलमा शनिवार नेपालले युएईलाई ३७ रनले हराएको थियो । तर आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो ।
त्यस्तै युएईले ओमानलाई हराएको थियो । नेपाल आठ टोली सहभागी लिग–टु मा २२ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । युएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ । अहिले खेलिरहेका तीन वटै टोलीले एक आपसमा दुई÷दुई खेल खेल्नेछन् ।











