काठमाण्डौ । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भएरगरेका काम कारबाहीको सूचनालाई अनलाइनमार्फत उपलब्ध गराउन शुरू गरेको छ ।
आयोगले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर आरटीआई म्यानेजमेन्ट सिस्टमलाई अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन शुरू गरेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा आयोगका सूचना आयुक्त एवम् प्रवक्ता गगन विष्टले पहिलो चरणमा सङ्घीय सरकारका मन्त्रालय, संवैधानिक आयोग, विभाग र विभागस्तरका सूचना अनलाइमार्फत माग गर्न सकिने र सूचना उपलब्ध नगराएको खण्डमा अनलाइनमार्फत नै पुनरावेदन दिन सकिने व्यवस्थाको शुरुआत गरेको बताउनुभयो ।
प्रवक्ता विष्टका अनुसार प्रणालीलाई क्रमशः तीन तहको सरकार र देशव्यापी रूपमा लागू गर्ने आयोगको योजना छ । उहाँले सार्वजनिक निकायका धेरैजसो कर्मचारीहरूमा सूचना दिनु नपरोस् भन्ने प्रवृत्ति रहेको भन्दै कडा निगरानी गरिने बताउनुभयो ।











