चीनको केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै

काठमाण्डौ । नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गएको असार २४ गते आएको बाढीबाट केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो । रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।

तातोपानी नाकाबाट नेपाल आउनेका लागि काठमाण्डौसम्म गाडीको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार गाडीका चालक, बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएकालगायत गरी दुई सय तीन जना नेपाली छन् । बाढीका कारण अवरुद्ध भएको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उहाँले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search