काठमाण्डौ । सामाजिक सुरक्षा कोषले सञ्चालन गर्दै आएको सुरक्षा योजना, सामाजिक सुरक्षा योजना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको सङ्ख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ । कोषले आज पत्रकार सम्मेलन गरेर कोषमा आबद्ध हुने योगदानकर्ता र रोजगारदाताको सूचीकरण तथा योगदान रकम सङ्कलनमा उल्लेख्य वृद्धि भएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कोषका प्रवक्ता कृष्णप्रसाद अधिकारीले गएको आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएका जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म २० हजार ९५१ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध भइसकेका छन् ।
यस्तै प्रवक्ता अधिकारीले गएको आर्थिक वर्षमा २५ अर्ब ३६ करोड रुपैयाँ योगदान रकम सङ्कलन भई कुल योगदान रकम ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको पनि जानकारी दिनुभयो । कोषले सामाजिक सुरक्षा योजनामार्फत १ लाख १० हजार ६९६ जनालाई औषधि उपचार, ५ हजार ९३३ जनालाई दुर्घटना तथा अशक्तता, ७४५ जनालाई आश्रित परिवार र १ लाख १२ हजार ८६८ जनालाई वृद्ध अवस्था सुरक्षा योजनामार्फत कुल १५ अर्ब ७५ करोड बराबरको दाबी भुक्तानी गरिसकेको जनाएको छ ।











