मध्यपूर्वमा रहेका नेपालीलाई सरकारको आग्रह : सुरक्षा सल्लाह र स्थानीय कानूनको पालना गर्नु

काठमाण्डौ । सरकारले मध्यपूर्वको पछिल्लो अवस्थालाई ख्याल गरेर सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानले मध्यपूर्वका देशमा गरेको प्रत्याक्रमणका कारण उत्पन्न अवस्थाप्रति सचेत रहन सरकारले आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वका देशमा बस्ने नेपालीहरू सुरक्षित रहेका र अब पनि सुरक्षाका उपाय अपनाउन आह्वान गरेको बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले सकेसम्म घरभित्रै बस्ने, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आ–आफ्नो ठाउँमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।

इरान र इजरायलसँगै खाडी क्षेत्रमा पनि सुरक्षा जोखिम बढेको छ । इरानले कतार, साउदी, बहराइन, यूएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि ती देशमा पनि सुरक्षा जोखिम बढेको हो । ती देशमा रहेका नेपाली दूतावासहरूले सूचना निकालेर स्थानीय कानूनको ख्याल गरेर गतिविधि गर्न तथा सुरक्षा सल्लाह र निर्देशनहरू पालना गर्न आह्वान गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली दूतावासले दोस्रो एडभाइजरी जारी गर्दै त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ । अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गर्दै दूतावासले पछिल्लो परिस्थितिबारेको फोटो तथा भिडियो खिचेर पोस्ट गर्दासमेत जिम्मेवार बन्न दूतावासले अपिल गरेको छ ।

ती देशमा रहेका नेपालीहरू अहिलेसम्म सुरक्षित रहेका र अवस्था साम्य नहुञ्जेल सुरक्षा सल्लाहको पूर्ण पालना गर्न दूतावासहरूको आग्रह छ । खाडी क्षेत्रमा झन्डै १९ लाख नेपाली कार्यरत छन् ।

सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली कार्यरत छन् । इराकमा २५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार नेपाली रहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search