काठमाण्डाै । यस वर्ष मनसुन शुरू हुनुअघि नै औसतभन्दा धेरै वर्षा भएकाले वन डढेलोका घटनामा उल्लेख्य कमी आएको छ । वन तथा भू–संरक्षण विभागको तथ्याङ्क अनुसार २०८१ सालको चैतमा ३३१ वटा डढेलोका घटना भएकामा यस वर्ष चैतमा यो सङ्ख्या घटेर ७९ मा झरेको छ । यो सङ्ख्या डढेलेको तथ्याङ्क राख्न थालेयताकै कम हो ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार यस वर्ष प्रि–मनसुन अवधिमा ४४ दशमलव ३ प्रतिशत वर्षा रेकर्ड भएको छ, जबकि यो अवधिमा सामान्यतया ३० प्रतिशत मात्र वर्षा हुने गर्छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष वन डढेलोको ठूलो समस्या नभएको बताउनुभयो । वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानका अनुसार जलवायु परिवर्तन, लामो सुक्खा अवधि र मानवीय गतिविधिका कारण पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढिरहेकोमा यो वर्ष प्रि–मनसुनको वर्षाले राहत दिएको छ ।
वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ अनुसार वन क्षेत्रको विस्तारसँगै उचित व्यवस्थापन र सदुपयोगको अभावमा वनमा आगलागीको जोखिम पनि बढेको छ । विगतका घटनाहरूका आधारमा धेरैजसाे वन डढेलो मानिसले लगाएको देखिन्छ ।
वन डढेलो लाग्ने कारणहरूमा चरिचरनका लागि आगो लगाउने प्रवृत्ति (३० प्रतिशत), चुरोट खानेहरूबाट (१५ प्रतिशत), शिकारीहरूबाट (७ प्रतिशत), वनभोज, क्याम्प फायर आदिबाट (७ प्रतिशत), बच्चाहरू खेल्दा (६ प्रतिशत), अवैध काठ कटान गर्नेहरूबाट (५ प्रतिशत), अतिक्रमणकारीहरूबाट (५ प्रतिशत), खोरिया फँडानीबाट (५ प्रतिशत), थाहा नभएका कारणबाट (४ प्रतिशत), गोल पोल्नेबाट (५ प्रतिशत), जडीबुटी सङ्कलकहरूबाट (३ प्रतिशत), राँको बाल्ने कारणले (३ प्रतिशत) र खेतीपातीका लागि (१ प्रतिशत) रहेको कार्ययोजनामा उल्लेख छ ।
समग्रमा मानिसहरूको जानाजानीबाट ६४ प्रतिशत, लापर्बाहीबाट ३२ प्रतिशत र थाहा नभएका कारणबाट ४ प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ ।











