नयाँ स्मार्ट लाइसेन्स पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट लाइसेन्स पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय रहेको जनाएको छ । स्मार्ट गाडी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै मन्त्रालयले अहिले लागू गरिएको प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको हो । सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा तह र दीर्घकालीन रणनीतिबारे मन्त्रालयले विस्तृत जानकारी दिइएको छ ।

मन्त्रालयका अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्ण रूपमा अन्तर्राष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ । जसको आकार विश्वभर प्रयोग हुने क्रेडिट कार्डको जस्तो छ । ट्राफिक प्रहरी वा अन्य नियामक निकायले कुनै पनि ठाउँमा इन्टरनेटको पहुँच बिना नै कार्ड स्क्यान गरी चालकको पहिचान र आधिकारिकता तत्कालै पुष्टि गर्न सक्षम बनाएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
सुरक्षाका हिसाबले नयाँ स्मार्ट लाइसेन्समा तीन तहमा विभाजित ३९ वटा फरक–फरक सुरक्षा विशेषता समावेश गरिएको छ । नागरिकको गोपनीयता र डेटा सुरक्षालाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ । सुरक्षण मुद्रण केन्द्रका अनुसार आउँदा दिनमा हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तःशुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर तथा विश्वविद्यालयका प्रमाणपत्र समेत स्वदेशमै उत्पादन गर्ने आधार तयार भएको छ ।

अहिले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रमा केन्द्रले लाइसेन्स छापिसक्ने अवस्था बनेको छ । त्यस्तै पुरानो छाप्न बाँकी सबै लाइसेन्स असार मसान्तभित्रमा छपाइ सकिने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार वैशाख १२ गतेसम्ममा १२ लाख र असार मसान्तसम्ममा थप १७ लाख पुरानो लाइसेन्सको छपाइ सकिनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search