अझै केही दिन गर्मी बढ्ने, तराई–मधेशको जनजीवन असहज

काठमाण्डौ । अझै केही दिन गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँचहरूमा गर्मी बढ्नेछ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । केही दिनयता तराई–मधेशसहित देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको हो । कतिपय ठाउँमा तातो हावा चलेको छ । कपिलवस्तु, भैरहवा, बाँके लगायत ठाउँको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

तातो हावा चल्न थालेपछि तराई मधेशको जनजीवन असहज बन्दै गएको छ । बिहानै घाम चर्कने भएपछि बजार र ग्रामीण क्षेत्रसमेत सुनसान बन्ने गरेका छन् । दैनिक ज्याला मजदुरी गर्नेहरूले काम पाउन छाडेका छन् । कतिपय ठाउँमा बेलुकीपख हल्का वर्षा भए पनि धेरै ठाउँमा गर्मी बढेको हो ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search