तराईमा तातो लहरले जनजीवन कष्टकर, पूर्वी क्षेत्रमा भोलि र पर्सि गर्मी केही कम हुने

काठमाण्डौ । पश्चिम तराई तथा भित्री मधेशमा पर्सि शनिबारसम्म तातो हावा चलेर गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज, भोलि र पर्सि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अस्ति मंगलबारदेखि मधेश प्रदेश लगायतका देशैभरका तराई क्षेत्रमा तातो हावा चल्दा जनजीवन कष्टकर बनेको छ । बिहानै घाम चर्कने भएपछि बजार र ग्रामीण क्षेत्रसमेत सुनसान बन्ने गरेका छन् ।

दैनिक ज्याला मजदुरी गर्नेहरूले काम पाउन छाडेका छन् । भोलिदेखि पूर्वी क्षेत्रमा तातो लहर कम हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सिसम्ममा पूर्वदेखि बागमती प्रदेशको तराई क्षेत्रसम्म गर्मी केही घट्ने सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोँचहरूमा भने पर्सिसम्म नै तातो दिन हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कतिपय ठाउँमा बेलुकीपख हल्का वर्षा भए पनि धेरै ठाउँमा गर्मी बढेको हो । आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search