काठमाण्डौ । काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । भोलि बिहान ७ बजेदेखि त्यस्ता संरचना एकै पटक खाली गराउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका तथा अनधिकृत संरचनामा डोजर चलाउने र खाली गराउने जनाएको हो । काठमाण्डौ जिल्लाभित्र नदीकिनारका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा समेत अतिक्रमण गरी अनाधिकृत रुपमा बसोबास भई आएका र त्यस्ता बस्ती तथा संरचना क्षेत्र खाली गर्ने प्रशासनले जनाएको छ ।
काठमाण्डौ महानगरको वडा–३ खाडीपाखा, नारायणटोल र रानीबारी, वडा–४ को बालुवाटार र धुम्बाराहीको बस्ती, वडा–१० देवीनगर, शान्तिविनायक र शंखमुल, वडा–११ को वंशीघाट, वडा–१४ को जागरणमार्ग, वडा–१५ को स्वयम्भु, वडा–१६ को बुद्धज्योति र जागृतिमार्ग, वडा–२६ को संगम टोल, वडा–२९ को अनामनगर र वडा–३२ को जडीबुटी मिलनचोकमा डोजर चलाउने तयारी छ ।
डोजर चलाउन लागिएका केही ठाउँमा माइकिङ समेत गरिएको छ । ती क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ काम तत्काल गर्न भनेको छ । आज बेलुकासम्म पूर्ण रुपमा घर टहरा खाली गर्नुपर्ने र वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति तथा परिवारलाई सरकारले तत्काल व्यवस्थापन गरेको ठाउँमा बसोबासको व्यवस्था मिलाइने उल्लेख छ ।
यसअघि सरकारले थापाथाली, गैरीगाउँ ९शान्तिनगर० र भक्तपुरको मनोहरा बस्तीमा डोजर चलाएर खाली गरिसकेको छ । यी ठाउँमा झण्डै २ हजार घरटहरा तथा संरचना भत्काइएको छ भने झण्डै १० हजार मानिस प्रभावित भएका छन् ।











