काठमाण्डौ । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आजदेखि शुरु भएको छ । सुरक्षाकर्मीको टोलीसहित विभिन्न ठाउँमा एकैसाथ डोजर परिचालन गरिएको छ ।
सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाण्डौका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती खाली गर्न लागेको हो । यसअघि अभियानको पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गरेर त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई स्थानान्तरण गरिएको छ ।
आजदेखि काठमाण्डौ महानगरको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारीलगायतका क्षेत्रको बस्ती खाली थालिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यसअघि नै सूचनमार्फत् त्यहाँ बसोबास गर्दै आएकालाई ठाउँ खाली गर्न आग्रह गरेको थियो ।
कतिपयले आफै खाली गरिसकेका छन् । काठमाण्डौ प्रशासनले नदी किनारका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा समेत अतिक्रमण गरी अनधिकृत तवरबाट बसोबास भई आएका बस्तीहरू खाली गर्ने जनाएको छ । मानवीय रूपमा उद्धार गर्न एवं विपद्को जोखिम समेत मध्यनजर गरी बस्तीहरू खाली गराइने प्रशासनले जनाएको छ ।
शहरी विकास मन्त्रालयका अनुसार जोखिमयुक्त बस्ती स्थान्तरणलाई सहज बनाउन त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रङ्गशाला पुर्याइनेछ । रङ्गशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरिनेछ । पहिलो कक्षमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रोमा सुकुम्वासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्याङ्क सङ्कलन गरिनेछ ।
त्यसै गरी, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामानजस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायले सहयोग गर्नेछन् । आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन पनि बसको व्यवस्था गरिएको छ । मन्त्रालयले तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवाको व्यवस्थासमेत गरेको छ । यी सेवा प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा उपलब्ध हुनेछन् ।











