काठमाण्डौ । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा रहेकी ८० वर्षीय नेत्रीलाई घरमा नजरबन्दमा सारिएको साथै उहाँको सजायलाई घटाएर १८ वर्ष बनाएको सैन्य सरकारले बताएको छ । सैन्य प्रमुख मिन आङ लाइङले आङसाङको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिएको बताउनुभएको छ ।
सुकीलाई सुनाइएको ३३ वर्षको सजायलाई पटक-पटक कटौती गरिएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले नोबेल शान्ति पुरस्कार विजेता सूकीलाई दुई जना सैनिक पोसाक लगाएका व्यक्तिका सामुन्ने बसिरहेको एउटा तस्बिर पनि प्रसारण गरेका छन् । सन् २०२१ मा सूकीको सरकारलाई सैन्य कूबाट अपदस्थ गरिएको थियो । त्यसयता जेलमा थुनामा राखिएको थियो ।
तर छोरा किम एरिसले शङ्का व्यक्त गरी आफ्नी आमा जीवित रहे या नरहेको प्रमाण आफूले नपाएको बताएका बीबीसीले जनाएको छ । सन् १९९१ मा सुकीले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो ।











