ताइवान भ्रमण गरेका न्युजिल्यान्डका ४ जना सांसदलाई चीनमा प्रतिबन्ध

चीनले ताइवान भ्रमणमा संलग्न न्युजिल्यान्डका चार जना सांसदलाई आफ्नाे देशमा प्रतिबन्ध लगाएको छ । ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना चार जना सांसदलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको न्युजिल्यान्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । चिनियाँ दूतावासले माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको थियो ।

चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दाबी गर्छ र यस टापुको विदेशी संलग्नतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ । तर चीनले ताइवान भ्रमण गर्ने न्युजिल्यान्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको यो पहिलो पटक हो । यो कदमले विदेशमन्त्री विन्स्टन पिटर्सलाई ‘आश्चर्यचकित’ पारेको न्युजिल्यान्डको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

न्युजिल्यान्डका सांसदहरूले दशकौँदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्युजिल्यान्डको एक चीन नीतिसँग मिल्ने बताउनुभएको छ ।

न्युजिल्यान्डमा रहेको चिनियाँ दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले ‘चीनको गम्भीर चासोलाई बेवास्ता गरेको’ र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड दिएका कारणले प्रतिबन्ध लगाइएको बताएको छ । यो भ्रमणले ‘चीनको आन्तरिक मामिलामा हस्तक्षेप’ गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search