दुई भूटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनालाई तत्काल रिहाइ गर्न माग

भूटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले दुई भूटानी राजबन्दी रिहाइको स्वागत गरेको छ । १८ वर्षभन्दा धेरै समयदेखि भूटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राई गएको सोमवार १ जुनमा रिहा भएका हुन् ।

भूटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले दिएको माफी एक महत्त्वपूर्ण उपलब्धि भएको अभियानले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का विशेष प्रक्रिया, युरोपेली सङ्घ तथा ह्युमन राइट्स वाचलगायत अन्तर्राष्ट्रिय मानवअधिकार साझेदारहरूसँग वर्षाैँदेखि गरिएको निरन्तर वकालत र कूटनीतिक पहलको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको जीसीआरपीपीबीका संयोजक राम कार्कीले बताउनुभयो ।

यद्यपि भूटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि विश्वव्यापी अभियानले चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाईसँगै उत्पन्न भएको गम्भीर मानवीय अवस्थाप्रति चिन्ता पनि व्यक्त गरेको छ ।

रिहापछि पहिचानसम्बन्धी कागजातको अभावका कारण दुवै जनालाई नेपाल प्रवेश गर्न अनुमति दिइएन । उहाँहरू भारत–नेपाल सीमामा रहेको पानीट्याङ्की क्षेत्रमा अलपत्र परेका र अन्ततः भूटान फर्किन बाध्य भएका अभियानले जनाएको छ । अहिले उहाँहरू भारतमा आफन्तहरूको संरक्षणमा अस्थायी रूपमा बसिरहनुभएको छ ।

यो घटनाले राज्यविहीनता र जबरजस्ती विस्थापनको जोखिम झेलिरहेका पूर्वराजनीतिक कैदीहरूका लागि दीर्घकालीन र मानवीय समाधानको तत्काल आवश्यकता औँल्याएको अभियानले विज्ञप्तिमार्फत भनेको छ ।

जीसीआरपीपीबीले पर्याप्त कानूनी तथा पहिचानसम्बन्धी कागजात उपलब्ध नगराई चतुरमान तामाङ र हस्तबहादुर राईलाई भारततर्फ पठाउने भूटान सरकारको कदमप्रति गम्भीर असहमति व्यक्त गरेको छ ।

भूटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि विश्वव्यापी अभियानले भूटान, नेपाल र भारत सरकारसँगै अन्तर्राष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन तथा आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक पहल गर्न पनि आग्रह गरेको छ ।

अभियानले भूटानका कारागारहरूमा रहेका बाँकी २८ राजनीतिक कैदी रिहा नभएसम्म प्रयास निरन्तर चलिरहने बताएको छ । उनीहरूको तत्काल र विनिा शर्त रिहाइको माग दोहोर्‍याउँदै यस दीर्घकालीन मानवअधिकार मुद्दाको न्यायोचित र मानवीय समाधान खोज्न सम्बन्धित सबै पक्षलाई अभियानको आग्रह छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search