विश्वकप फुटबलअघि नेपाल प्रहरीको आग्रह : अनलाइन बेटिङ एप प्रयोग नगर्नुहोस्

काठमाण्डौ । प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुने सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ । प्रहरीले यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियोमार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो ।

नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार–प्रसार बढ्दै गएको छ । सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यममार्फत सजिलै आम्दानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरुपयोग हुने सम्भावना समेत रहने जनाएको छ । यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ ।

नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैरकानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ । साथै, अनलाइन बेटिङको प्रचार–प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ ।

प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search