संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि १८ वर्ष जेल जीवन बिताएका दुई भुटानी राजनीतिक बन्दी रिहा भएका छन् । भुटानको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुरमान तामाङ र हस्तबहादुर राई रिहा हुनुभएको हो ।
राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तरराष्ट्रिय मानवअधिकार मापदण्डविपरीत भएको ठहर गरेपछि १८ वर्षभन्दा लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भुटान सरकारले रिहा गरेको थियो । राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् २००८ फेब्रुअरीमा नेपालस्थित भुटानी शरणार्थी शिविरबाट भुटान फर्किएपछि पक्राउ गरिएको थियो ।
भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि अभियान चलाइ रहेको मानव अधिकारवादी संस्था ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी) ले भुटानका विभिन्न जेलमा रहेका २८ जना राजबन्दीलाई अविलम्व रिहा गर्न भुटान सरकारसँग माग गरेको छ ।
दुई पूर्वबन्दीको रिहाइ खुशीको विषय भएको र बाँकी २८ राजनीतिक बन्दी रिहा नभएसम्म र उनीहरूको अधिकार पूर्ण रूपमा पुनःस्थापित नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने जीसीआरपीपीबीका विश्व संयोजक राम कार्कीले बताउनुभएको छ ।
राष्ट्रसंघको कार्यसमूहले पनि यस्तै प्रकृतिका अन्य मुद्दाहरू पुनरावलोकन गर्न, राष्ट्रिय कानुन तथा अभ्यासलाई अन्तरराष्ट्रिय मानवअधिकार मापदण्डअनुरूप बनाउन तथा तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भुटान सरकारलाई आग्रह गरेको छ ।











