पाँचखपन नगरपालिका वडा नं. ६ को वडासभा सम्पन्न : १७ जना सम्मानित

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ६ को वडासभा सम्पन्न भएको छ । वाना सामुदायिक भवनमा शुक्रबार वडाको १० औं वडासभा सम्पन्न भएको हो । सभाको क्रममा विभिन्न विधाका १७ जनालाई सम्मान गरिएको वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मानित हुनेहरुमा उत्कृष्ट शिक्षक २०८२ बाट वाना माध्यमिक विद्यालयका मन कुमार सुब्बा, उत्कृष्ट समाजसेवीको रुपमा नारायण कुमार श्रेष्ठ, उत्कृष्ट रुद्राक्ष व्यवसायीबाट सुबोध श्रेष्ठ र उमेश कुमार श्रेष्ठ, उत्कृष्ट पशुपालक कृषकतर्फ तुलसीराम श्रेष्ठ सम्मानित भएका छन् । यस्तै उत्कृष्ट बेमौसमी तरकारी खेतीतर्फ धन बहादुर श्रेष्ठ, उत्कृष्ट मौरीपालक कृषकतर्फ डिल्ली कुमार श्रेष्ठ, उत्कृष्ट अलैंची खेती कृषकतर्फ पूर्ण बहादुर तामाङ, उत्कृष्ट स्वास्थ्यकर्मीतर्फ पवित्रा श्रेष्ठ सम्मानित गरिएको छ । यसैगरी उत्कृष्ट होटल व्यवसायीतर्फ शिव कुमार श्रेष्ठ, उत्कृष्ट किराना व्यवसायीतर्फ मान बहादुर श्रेष्ठ र उत्कृष्ट टोल विकास संस्थातर्फ देवीथान बाँझगरा टोल विकास संस्थालाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने एसईई २०८२ मा सर्वोत्कृष्ट अंक प्राप्त गरि उत्तीर्ण भएका ५ जना विद्यार्थीलाई पनि सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा आयुशा श्रेष्ठ (३.८६ जीपीए), एञ्जल सुम्याहाङ (३.८५ जीपीए), साधना श्रेष्ठ (३.८४ जीपीए), अनमोल श्रेष्ठ (३.८३ जीपीए) र सुविन श्रेष्ठ (३.८३ जीपीए) रहेका छन् । उनीहरु सबै वाना माविका विद्यार्थीहरु हुन् भने सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने जिल्लाका उत्कृष्ट १० विद्यार्थीहरु मध्येमा पर्दछन् । उनीहरुलाई नगद ३ हजार रुपैंया र सम्मान पत्रले सम्मान गरिएको हो ।

नगर उपप्रमुख सुमुना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सभामा वडाअध्यक्ष श्रेष्ठले २०८३÷०८४ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । वडाअध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको अन्तिम बजेट विनियोजन भएकाले समावेशी तथा समताको हिसाबमा योजना सञ्चालन गरिने भएकाले सबैले साथ दिन आग्रह गर्नुभयो । यो अवधीसम्म साथ र समर्थन गर्नु भएका ६ नं. वडाबासी सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search