काठमाण्डाै । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायीहरूलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । चेम्बरले आज आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उहाँले व्यवसायीहरूलाई आशङ्काकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकडले लगानीमैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने अध्यक्ष अग्रवाल बताउनुहुन्छ । ‘पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कारबाही गर्ने’ नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष अग्रवालले एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसायी त्रासमा रहने अवस्था रहेको भन्दै ‘एक क्षेत्र–एक नियामक’ को अवधारणा लागू गर्नुपर्ने बताउनुभयो । सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाले अहिले निजी क्षेत्रमा त्रास सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो ।
२०६४ सालअघि वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेख राज्यसँग व्यवस्थित रूपमा नरहेको अवस्थामा यसमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ ।











