एलन मस्कको ‘स्पेसएक्स’ विश्वको पाँचौँ सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । आफ्नो शेयर मूल्यमा भएको वृद्धिपछि ‘स्पेसएक्स’ ले ‘अमेजन’ लाई उछिनेर पाँचौँ नम्बरमा उक्लिएको बीबीसीले जनाएको छ ।
अमेरिकाको न्युयोर्कको प्रविधि–केन्द्रित ‘नास्ड्याक’ स्टक एक्सचेन्जमा सूचीकृत भएको केही दिनपछि ‘स्पेसएक्स’ को शेयर मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । ‘स्पेसएक्स’ ले आईपीओमार्फत कीर्तिमानी ७५ अर्ब अमेरिकी डलर सङ्कलन गरेको थियो । ‘स्पेसएक्स’ शेयर बजारमा सूचीकृत भएसँगै ५४ वर्षीय मस्क विश्वको पहिलो खर्बपति बन्नुभएको थियो ।
रकेट बनाउने कम्पनी ‘स्पेसएक्स’ को बजार मूल्य अहिले २७ खर्ब ८० अर्ब डलर पुगेको छ । यस्तै जेफ बेजोसको विश्वकै ठूलो ई–कमर्स कम्पनी ‘अमेजन’ को बजार मूल्य २६ खर्ब ६० अर्ब डलर छ ।
एआई कोडिङ स्टार्ट–अप ‘कर्सर’ लाई ६० अर्ब डलरमा किन्ने घोषणा गरेपछि ‘स्पेसएक्स’ को मूल्य एक्कासी बढेको हो ।
अहिले विश्वकै मूल्यवान् कम्पनी चिप निर्माता ‘एनभिडिया’ हो । यस्तै दोस्रो नम्बरमा गुगलको मातृ संस्था ‘अल्फाबेट’, तेस्रो नम्बरमा आईफोन बनाउने कम्पनी ‘एप्पल’ र चाैथाे नम्बरमा सफ्टवेयर कम्पनी ‘माइक्राेसफ्ट’ रहेको छ ।











