विश्वकप फुटबलमा इङ्गल्याण्डको विजयी शुरुआत, पोर्चुगल र कङ्गोले बराबरी खेले

काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उपाधि दाबेदार इङ्गल्याण्डले विजयी शुरुआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ । आज बिहान सम्पन्न समूह ‘एल’ को खेलमा इङ्गल्याण्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । इङ्गल्याण्डका कप्तान ह्यारी केनले खेलको १२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर ३६औँ मिनेटमा मार्टिन बाटुरिनाले गोल गरेपछि क्रोएसिया खेलमा फर्कियो । त्यसपछि ४२ औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्याण्डलाई पुनः अग्रता दिलाए । तर पहिलो हाफको इन्जुरी समयमा पिटर मुसाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।

दोस्रो हाफमा इङ्गल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । ४७ औँ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने ८५औँ मिनेटमा मार्कस रास्फोर्डले गोल थपेपछि इङ्गल्याण्डले ४–२ को सहज जित सुनिश्चित गर्‍यो । जितसँगै इङ्गल्याण्डले समूह ‘एल’ मा तीन अङ्क जोडेको छ ।

यस्तै गए राति सम्पन्न अर्को खेलमा पोर्चुगल र कङ्गोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । बलियो मानिएको पोर्चुगलविरुद्ध कङ्गोले अङ्क खोस्दै ऐतिहासिक नतिजा निकालेको हो । खेलको छैटौँ मिनेटमै जोआओ नेभेसको गोलमार्फत पोर्चुगलले अग्रता बनाएको थियो ।

तर पहिलो हाफको इन्जुरी समयमा योआने विस्साले हेडमार्फत गोल गर्दै कङ्गोलाई बराबरीमा फर्काए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकिएको हो । सन् १९७४ मा जायरे नामबाट पहिलो पटक विश्वकप खेलेको कङ्गो ५२ वर्षपछि विश्वकपमा फर्किएको हो ।

विश्वकपमा अहिले समूह एलको घाना र पनामा खेलिरहेका छन् । अहिले बिहान पौने ८ बजे समूह के को उज्वेकिस्तान र कोलम्बिया खेल्दैछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search