अख्तियारलाई आरजुको जवाफ : ‘३ दिनभित्र उपस्थित हुन सक्दिनँ’

काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्वमन्त्री आरजु राणा देउवाले इमेल पठाउनुभएको छ ।

हिजो आयोगको टोली बूढानीलकण्ठमा रहेको देउवा निवासमा पुगेर ३ दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो । नवयुवा आन्दोलनका क्रममा जलेर खण्डहर भएको घरमै पुगेर अख्तियारको टोलीले म्याद तामेल गरेपछि राणाले ३ दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ ।

राणाले इमेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने व्यहोरा उल्लेख गर्नुभएको छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएकी कांग्रेस नेत्री आरजु राणा र उहाँका श्रीमान् तथा पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर हुनुहुन्छ ।

राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, जर्मन कम्पनी मुह्रबाउरका नेपाली एजेन्ट मनिन्द्रराज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ ।

राहदानी खरिदमा भएको भनिएको अनियमिततामा ३५ जनाभन्दा धेरैमाथि विस्तृत छानबिन भइरहेको आयोगले जनाएको छ । प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झन्डै ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दाबी छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search