काठमाण्डाै । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रमुख प्रणव गुप्ताले नेपालको आन्तरिक वित्तीय प्रणाली र वास्तविक अर्थतन्त्र गम्भीर दबावमा रहेको बताउनुभएको छ ।
ललितपुरमा आज आयोजित एक कार्यक्रममा प्रमुख गुप्ताले समष्टिगत आर्थिक सूचकहरू स्थिर देखिए पनि बजारको वास्तविक चित्र चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्नु र सहकारी सङ्कट गहिरिँदै जानुले आन्तरिक अर्थतन्त्र शिथिल बनेको उहाँको विश्लेषण छ ।
देशको बाह्य सूचक राम्रो हुनुमा रेमिट्यान्स मुख्य जिम्मेवार रहेको बताउँदै प्रमुख गुप्ताले यसले उपभोग र आयात धाने पनि संरचनात्मक परिवर्तन र रोजगारी सिर्जना गर्ने दबावलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो । यसकै कारण उत्पादक क्षेत्रमा आन्तरिक लगानी बढ्न नसकेको र नेपाल न्यून–विश्वास तथा न्यून–लगानीको पासोमा अल्झिएको उहाँको निष्कर्ष छ ।
बाह्य सूचकको तथ्याङ्कले आन्तरिक सङ्कट र नागरिकको घट्दो क्रयशक्तिलाई छोप्न नसक्ने भन्दै उहाँले रेमिट्यान्समाथि अत्यधिक निर्भरताको ष्चक्रबाट बाहिर निस्कन कठोर निर्णयहरू लिनुपर्ने सुझाव दिनुभयो ।
आन्तरिक बजारमा माग बढाउन र उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन पूँजीगत खर्च वृद्धि पहिलो शर्त भए पनि सरकारी खर्चको फितलो अवस्था चिन्ताजनक रहेको प्रमुख गुप्ताले बताउनुभयो ।











