अमेरिका, मेक्सिको र क्यानडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले संसारभरका फुटबलप्रेमीहरूमा विशेष उत्साह थपेको छ । तर फरक ‘टाइम जोन’ का कारण नेपाली समयअनुसार धेरैजसो खेलहरू मध्यरातिदेखि बिहान सबेरैसम्म पर्ने भएकाले फुटबलप्रेमीहरूको निद्रा बिथोलिने क्रम बढेको छ ।
खेलको समयका कारण यस पटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन । छाती तथा निद्राविकार विशेषज्ञ डा. राजु पङ्गेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा तत्काल र दीर्घकालीन दुवै किसिमका स्वास्थ्य समस्या देखिन सक्छन् ।
तत्काल असरका रूपमा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ, भोलिपल्ट काम वा पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । यसका साथै शरीरमा तनाव उत्पन्न गर्ने हर्मोन कोर्टिसोलको मात्रा बढ्छ जसले चिडचिडापन र ‘मुड स्विङ’ को समस्या निम्त्याउँछ ।
शारीरिक स्वास्थ्यमा पनि असर कम छैन । निद्रा बिथोलिँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र रुघाखोकीलगायत भाइरल सङ्क्रमणले सहजै सताउन सक्छ । राति ढिलासम्म बस्दा पाचन प्रक्रियामा पनि गडबडी आउने, ग्यास्ट्रिक र अपचको समस्या बढ्ने, भोकको चक्र बिग्रनेजस्ता समस्या आउने चिकित्सकहरू बताउँछन् ।
लगातार निद्रा बिग्रिएमा दीर्घकालमा उच्च रक्तचाप, मुटुरोग र मधुमेहको जोखिम पनि बढ्छ । तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिने डाक्टरहरूको भनाइ छ । खेल हेर्नुअघि दिउँसो वा बेलुकातिर केही समय निदाउने तथा राति कफी, चिया र जाँड–रक्सीको सट्टा पानी वा स्वस्थकर तरल पदार्थ पिउने र बिदाको दिनमा थप आराम गरी निद्राको कमी पूरा गर्न उनीहरूको सुझाव छ ।
खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकोले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन् ।











