काठमाण्डाै । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको वैदेशिक व्यापार १४ दशमलव ७८ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ थियो ।
११ महिनाको अवधिमा वस्तु आयात १५ दशमलव १६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । यस्तै निर्यात १२ दशमलव २८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ । ११ महिनाको अवधिमा व्यापार घाटा १५ दशमलव ६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कीर्तिमान बनेको छ । भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ इतिहासकै उच्च हो । यसअघि सबैभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष २०७८/७९ मा वार्षिक २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ थियो । यसपालि ११ महिनामै त्योभन्दा धेरै भयो ।
यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै २ खर्ब ७७ अर्ब ३ करोडकाे वस्तु निर्यात भएकोमा यो वर्ष ११ महिनामै २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।











