‘मिसन १६ खर्ब’ का लागि प्रभावकारी कार्यसम्पादन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ ।

भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भुसाल र डा.भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यभार सम्हाल्नुअघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले राजस्वको लक्ष्य भेटिने गरी ‘मिसन १६ खर्ब’ का लागि इमानदारीपूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो । अर्थमन्त्री डा. वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

भन्सार र कर आम्दानी बढाएर देशको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा देशले विकासको गति लिने अर्थमन्त्री वाग्लेको भनाइ छ ।

नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search