चितवन । २५ जनाको ज्यान लिएको ‘धुर्बे’ हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । २ वर्षअघि पनि दाह्रा काटिएको थियो । ‘धुर्बे’ हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।
याे हात्तीले गएकाे शनिवार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । अधिकृत पुर्जा पुनका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ ।
‘धुर्बे’ हात्तीले मेघौलीको गोलाघाटमा रहेकाे सामुदायिक वनको गेटमा हानेर सोमवार साँझ स्थानीय २ वटा घरको अन्न खाएको थियो ।
हात्तीलाई लगाउने रेडियो कलर आइसकेको छ । याे उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयवासीलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ ।
विसं २०७४ मा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरेर मारेपछि ‘धुर्बे’ ले झन्डै ९ वर्षपछि ती दुई आमाछोराको ज्यान लिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै मान्छे मार्ने हात्तीका रूपमा परिचित ‘धुर्बे’ ले २०६८/६९ सालताका दैनिकजसो मान्छेको ज्यान लिन थालेपछि मार्न आदेश दिइएको थियो ।
याे हात्तीले २०६९ सालको कात्तिकदेखि १ महिनाको अन्तरालमा माडीमा मात्रै ४ जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले मार्ने निर्णय गरेको थियो । विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ‘धुर्बे’ ले २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिइसकेको थियो ।
निकुञ्जमा ‘रोनाल्डो’, ‘गोविन्दे’, ‘धुर्बे’ लगायत नाम गरेका जङ्गली भाले हात्ती छन् । निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन हुँदै आएको छ ।
प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा जङ्गली हात्ती छन् । अन्य हात्तीले त्यस क्षेत्रमा दुःख दिएका छैनन् ।











