काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि ३ महिनासम्म ‘डेङ्गी सचेतना’ अभियान सञ्चालन गर्ने भएको छ । साउन, भदौ र असोज ३ महिनासम्म ‘डेङ्गी सचेतना’ अभियान सञ्चालन गरिने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
उहाँले साउनदेखि डेङ्गीको सङ्क्रमण बढ्ने सम्भावना भएकाले ३ महिनासम्मका लागि सचेतना अभियान सञ्चालन गरी आमनागरिकलाई सचेत बनाइने बताउनुभयो ।
साउनदेखि वर्षा बढी हुने भएकाले पानी जम्मा हुने र त्यही पानीमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने भएकाले त्यसबारे जानकारी दिन अभियान सञ्चालन गर्ने डा.दाहालले बताउनुभयो । साउनदेखि असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने सम्भावना रहन्छ ।
सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार्भा खोज र नष्ट गर, टोलटोल र विद्यालय गएर डेङ्गी सङ्क्रमणबारे सचेतना फैलाइने शाखा प्रमुख डा दाहालले उल्लेख गर्नुभयो । उहाँका अनुसार गएको जनवरीदेखि अहिलेसम्म १ हजार २४४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।










