आज दोस्रो राष्ट्रिय कोदो दिवस : उपेक्षामा परेका कोदोजन्यबालीको प्रवर्द्धनमा जोड

काठमाण्डौ । आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाईंदैछ । सरकारले गएको वर्षदेखि साउन १६ लाई राष्ट्रिय कोदो दिवसकारुपमा मनाउन थालेको हो । यस वर्ष ‘कोदोबाली संरक्षण र प्रवर्द्धन : खाद्य तथा पोषण सुरक्षा संवर्द्धन ’ नाराका साथ दिवस मनाउन लागिएको छ ।

कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रम आयोजना गरेको छ । सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्लामध्ये एक हो । नेपालका ७७ वटै जिल्लामा कोदोको उत्पादन हुन्छ ।

कोदो उत्पादनका लागि अनुकूल जमिन र मौसम हुँदाहुँदै पनि कोदोसहित कोदोजन्य बाली उपेक्षामा परेका छन् । उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली हो । उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकैपछि नेपालको चौथो सबैभन्दा महत्त्वपूर्ण बाली मानिन्छ ।

नेपालमा कोदो, कागुनो, जुनेलो, सामालगायतका जात छन् । कोदोको रोटी र ढिडो मात्रै नभई अरु विभिन्न परिकार खीर, मःम, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डा.कृष्णहरि घिमिरेले बताउनुभयो ।

उहाँकाअनुसार पहिला पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग बढ्दो छ । कोदोले भोकमरी, कुपोषण, जलवायु परिवर्तन र जैविक विविधताको ह्रासजस्ता विश्वव्यापी चुनौतीसँग जुध्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञले बताएका छन् । संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाएको थियो ।

नेपाल वार्षिक झण्डै ३ लाख ३० हजार टन कोदो उत्पादन हुने गरेको छ । पछिल्ला वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै गएको तर उपभोग बढ्दो रहेकाले भारतलगायतका देशबाट आयात गर्ने गरिएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा झन्डै ६१ करोड रुपैयाँबराबरको कोदो भित्रिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search