धनकुटामा हेमराज भण्डारीसहित माओवादी नेताहरुले दिए सामूहिक राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हु्न् ।

यसअघि धनकुटाका नेता माओवादीका पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीले प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका थिए । तर सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले भण्डारीको उम्मेदवारी सुनिश्चित छैन । अनलाइनखबरसँगको कुराकानीमा भण्डारीले आफूले १० दिनअघि नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको बताए ।

‘मैले १० दिनअघि नै अध्यक्षलाई राजीनामा बुझाएको हो, त्यसलाई जिल्लाका साथीहरुसँग सार्वजनिक गरेर मात्रै बाहिर ल्याउने भनेको थिएँ’, उनले भने, ‘हिजो जिल्लाका साथीहरुसँगको छलफलपछिको निर्णय हो त्यो ।’

जिल्ला नेताहरुले भण्डारीलाई प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेका छन् । धनकुटामा नेपाली कांग्रेसका नेता सुनिल थापाको समेत दाबी रहेकाले सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोट पेचिलो बनेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search