मकालु गाउँपालिका वडा नं. ३ को हेङ्खुवामा “हेदाङना डिल्ली प्रसाद रंगशाला” आर्थिक अभावका कारण थलिएको छ । विगत ५/६ वर्ष अघि देखि निर्माण सुरु गरिएको उक्त रंगशाला निर्माण चरणमा भएपनि आर्थिक स्रोतको अनिश्चितताका कारण रोकिएको छ । रंगशाला निर्माणका लागि स्थानीय डिल्ली प्रसाद राईको नाममा करिब १५ रोपनी जग्गा न्युनतम् मुल्यमा उपलब्ध गराएका छन् । तर उपलब्ध गराइएका जग्गालाई सम्याउन र वालहरु निर्माण गर्न बजेट अभाव भएको छ ।
विगतमा उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकारमार्फत २० लाख रुपैंया, मकालु गाउँपालिकाबाट ५ लाख रुपैंया र चालु आर्थिक वर्षमा पनि २१ लाख रुपैंया उपलब्ध भएको छ । प्राप्त बजेटहरुबाट संरचना निर्माणका कार्यहरु भइरहेको वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।
आर्थिक सहयोग जुटाउन गत फागुन ३ गते वडाबासीहरुको आम भेला बसी रकम संकलन गरि समस्याको समाधान गर्ने निर्णय पारित गरिएको छ । जसका लागि सम्पूर्ण वडाबासी, गाउँपालिकाबासी तथा देश विदेशमा रहनु हुने सम्पूर्ण महानुभावहरुमा सहयोग गर्न अपिल गरिएको छ ।
तत्कालका करिब २० लाख रुपैंया रकम अभाव भएको वडा अध्यक्ष राईले बताउनु भयो । रंगशाला निर्माण अभियानमा सहयोग गर्ने दाताहरुलाई विभिन्न १० शिर्षकमा सम्मान गरिने जनाइएको छ । २ हजारसम्म सहयोग गर्ने व्यक्तिको नाम व्यानरमा उल्लेख गरिने छ । यस्तै २ देखि ४ हजारसम्म सहयोग गर्ने व्यक्तिको नाम होडिङ बोर्डमा उल्लेख गरिने छ । ४ देखि १० हजारसम्म सहयोग गर्ने १ जनाको शिलालेखमा नाम उल्लेख गरिने छ ।
यसैगरी १० देखि १५ हजारसम्म सहयोग गर्ने १ जनाको नाम शिलालेखमा उल्लेख गरि प्रमाण पत्र प्रदान गरिने छ । १५ देखि २० हजारसम्म सहयोग गर्ने १ जनाको नाम शिलालेखमा उल्लेख गरि सम्मान पत्र प्रदान गरिने छ । यस्तै २० देखि २५ हजारसम्म सहयोग गर्ने २ पुस्ताको नाम शिलालेखमा उल्लेख गरि सम्मान पत्र प्रदान गरिने छ ।
यसैगरी २५ देखि ३० हजारसम्म सहयोग गर्ने ३ पुस्ताको नाम शिलालेखमा उल्लेख गरि सम्मान पत्र प्रदान गरिने छ । ३० देखि ५० हजारसम्म सहयोग गर्ने श्रीमान्÷श्रीमतीको नामसहित ३ पुस्ताको नाम शिलालेखमा उल्लेख गरि सुनौलो फ्रेमसहितको सम्मान पत्र प्रदान गरिने छ ।
यस्तै ५० देखि १ लाखसम्म सहयोग गर्ने ३ पुस्ताको नाम शिलालेखमा उल्लेख गरि, सुनौलो फ्रेमसहितको सम्मान पत्र साथै २ जनालाई दोसल्ला ओढाई सम्मान गरिने छ । १ लाख देखि माथि सहयोग गर्नेको स–परिवारको नाम शिलालेखमा उल्लेख गरि सुनौलो फ्रेमसहितको सम्मान पत्र साथै श्रीमान् श्रीमतीलाई दोसल्ला ओढाई सम्मान गरिने जनाइएको छ ।